बा को पसिना,
खेत-खेतमा चुहिदै गर्दा,
टुसा पलाएका,
एक थान सपनाहरू!
धुलाम्मे कमिजको खल्तीमा
केहि रूपियाँ र केहि आशा कोचेर
मौलाउन सहर छिरेका
सपनाका तातीहरू
रित्तिदो गोजा सँगै
रित्तिए सपना, रहरहरू!

अंधेरिएको रात:
जब जोड्न सकिन,
सहरिया झिलिमिलि।
त्यहि दिन हो पहिलो पटक
दुर्घटनामा परी मरेको:
मेरो सपना!
आवश्यकता र रहरको भुमरीमै
निसास्सिएर फेरी मरे सपना हरू!
टाढै बाट हेरि रहे:
लाखौं रूपियाँको चितामा
सती जादै गरेका सपनाहरू!

थोरै बाँचेका सपनाहरू,
समझदार भैदिए!
आत्महत्या गरिदिए!
आफैं गए,
आफ्नै सपनाको मलामि!
अझै!
घरि-घरि!
धाउने गर्छु चिहानघारी!
मेरो सपनाको चिहान माथि
नयाँ फूल पो फूल्यो कि?

# पाना
१८-०५-२०१८
२:०१ एम
कालोपूल