म मान्ने थिइनँ
कतै टाढा, सुदुर एकान्तमा
तिम्रा निर्दोष परेलीहरु भिजेका बेला
अचानक मेरा आँखाहरु नरसाएका भए
वा कुनै जंगली नङ्ग्राहरुले
तिमीलाई जबरजस्ती कोतर्न खोजेको बेला
मेरो नसामा रगत नउम्लिएको भए
म कदापि मान्ने थिइनँ
कि म तिमीलाई अगाध प्रेम गर्छु।

म मान्ने थिइनँ
जब दुनियाले तिमीलाई चोर औँला ठड्याएको बेला
दुनियाले अकारण तिमीलाई पागल भनेको बेला
मलाई तिमी विदुषी सरस्वती नलागेकी भए

म मान्ने थिइनँ प्रिय,
जब मुस्काउँथ्यौ तिमी
खोलेर दिलका दैलाहरु,
र भन्थ्यो दुनिया तिम्रो त्यहि मुस्कानलाई अश्लिल,
मलाई त्यहि मुस्कान दिव्य नलागेको भए

म मान्ने थिइनँ
जब दुनियाले तिमीलाई बाटोको बेकाम पत्थर ठानेको बेला
मलाई तिमी अनमोल कोहिनुर हिरा नलागेकी भए
प्रिय,
म जरुर मान्ने थिइनँ
कि म तिमीलाई केवल प्रेम गर्छु।

म यो पनि मान्ने थिइनँ
जब म कुनै साँझ आफ्नै एकान्तमा
आफैँलाई बिर्सेर एक्लै रोएको थिँए
तिम्रा ति कोमल हातहरुले
मलाई सुस्तरी नथुम्थुम्याएकी भए

जब म कामेँथे लुगलुगाउँदै
ति नि:साथका ठन्डी हिउँदहरुमा
तिमीले मायाको न्यानो अँगालोमा नबाँधेकी भए
म मान्ने थिइनँ
कि तिमी मलाई यि घामहरुले झैँ निस्वार्थ प्रेम गर्छौ।

त्यसैले प्रिय,
नत्र म किन मान्थेँ र
जब म पुगेको हुन्थेँ भगवानको मन्दिरमा
निश्चल प्रेमको याचना गर्न
र बन्द गरेको हुन्थेँ यि मेरा आँखाहरु,
मेरा यि बन्द आँखाहरुले
फगत मुस्कुराइरहेको तिम्रो दिव्य मुहार नदेखेको भए
म कदापि मान्ने थिइनँ
कि तिमी स्वयं ईश्वरको साकार मुर्ति हौ।
कि तिमी सृष्टिकै सुन्दर रचना हौ।